Sunday, October 16, 2011

'खसे पुक' अभ्यास

बाल्यकालको सम्झना दिलाउने किरात राई दुङमाली मातृभाषी हुनेसँग जोडिएका केही तीतामीठा प्रसङ्ग छन्। पहिलो प्रसङ्ग, मेरो मावली बोजु (हजुरआमा)को। पल्टनमा जमदार बाजेले त्यतिबेलाको नेपालको मगरनीलाई पँधेराबाटै तानेर भोजपुरको उदेकलाग्दो गाउँमा पुर्याउनुभएछ। रहँदाबस्दा बोजुले गाउँको भाषा, परिवेश र सँस्कृति यति आत्मसात् गर्नुभयो, कसैले बाहिरबाट आएको भेउ नै नपाउने भो! दुङमालीले बोजुको मातृभाषा समेत कप्लक्कै निलिदियो।

जीवनकालमा उहाँ एकपल्ट पनि माइत जानुभएन। माइतीको एउटा मात्र चिठी पनि निधनपछि आइपुग्यो। बोजुले सामना गरेको भाषिक कठिनाइ म भन्न सक्दिनँ, तर २०४९-५० ताका मैले केही कठिनाईसँग जुध्नुपरेको थियो। हैरानै भइयो। तर त्यसले बोजुको जस्तै सकारात्मक गति लिनु रहेछ, लियो।

खसे पुकको शक्ति

प्राथिमक शिक्षादेखि नै नेपाली पाठ्यक्रमअन्तर्गत नेपालीमै पढाइ हुने विद्यालयमा बाहिरबाट आएका नेपालीभाषी मास्टरहरु हामीलाई नेपालीमा अभ्यस्त पार्ने अनेक कोसिस गर्नुहुन्थ्यो, तर हाम्रो जिब्रोमा यो भाषा बस्दै मान्दैनथ्यो। फुल पार्ने दशथरी पंक्षीको नाम लेख भन्ने प्रश्नमा कसोकसो बुझेछौँ। सबै उत्तर लेख्यौ, तर आफ्नै मातृभाषामा (अझैपनि म कतिपय चराचुरुंगी र बोटविरुवालाई नेपाली नामले चिन्दिनँ)। कापी जाँच्दा सरले बुझ्नुभएनछ। धन्न, ती सरले स्कूल नजिकै बिहे गर्नुभएको थियो, त्यही अन्तरजातीय विवाहले हाम्रो उद्दार गरेछ।

पाँच कक्षाको अङ्ग्रेजीको जाँच घोकेरै दिइयो। नेपालीमा अङ्ग्रेजीको भन्दा कता हो कता धेरै लेखियो, तर के लेखेँ थाहा थिएन। तीनओटा प्रश्न बाँकी छँदा नेपाली पढाउने सरले आएर कालोपाटीमा धमाधम उत्तर लेखिदिनुभयो। हामी पास भयौँ। जिल्लास्तरीय जाँच थियो, अरु विषय बिगारे पनि नेपालीमा विद्यार्थी फेल भए सरहरुलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गरिएको पछि मात्र थाहा भयो। त्यसबेला अलिअलि हाम्रो मातृभाषा बुझ्ने र बोल्नेलाई मात्र हामी 'हाम्रो' सर ठान्थ्यौँ-भन्थ्यौँ, अरु सरहरु 'अरु' हुन्थे। गाउँभरि सबै जातकाले दुङमाली भाषा नै बोल्थे। हाम्रा लागि नेपाली भाषा 'खसे पुक' (खस कुरा) थियो।

मेरो लागि नेपाली, अङ्ग्रेजी, गणित सबै उस्तै थिए। त्यसमाथि एकताका हामीलाई संस्कृत पनि पढाइटोपलियो जस्तो लाग्छ। पाँच कक्षासम्म के के पढेँ भनेर अहिले सम्झँदा हात लाग्यो शुन्य हुन्छ। र पनि, नेपाली भाषाको चाम्रो चिउरा चपाउने असली कसरत गर्नै बाँकी रहेछ, जुन जसोतसो पाँच कक्षा छिचोलेर अर्कै माहोलमा पुगेपछि शुरु भयो। मजैले तर्सायो, नेपालीको भूतले। कक्षामा प्रायः सबै साथी नेपाली मातृभाषी थिए। तिनको चुरीफुरी नै अर्कै। आफू भने सधैँ अक्क न बक्क। तर जसरी पनि 'खसे पुक' जान्नैपर्ने बाध्यता आइलाग्यो। कनीकुथी बोल्नै पर्दा कसैले बेस्कन घाँटी अँठ्याए जस्तो हुन्थ्यो, आवाजविहिन जिब्रो खाली हल्लने मात्र। अनि साथीहरु खिसी गर्थे, मास्टरहरु हाँस्थे। हामी लाज र लघुताभाषले भुतुक्कै हुन्थ्यौ। जानेका कुरा पनि मुखैमा अड्किन्थे। कक्षामा सँधै चुपचाप बस्थ्यौ। मातृभाषामा उट्पट्याङ अर्थ लाग्ने नेपाली शब्दहरु आउँदा अचानक हाँसिन्थ्यो। अङ्ग्रेजी, विज्ञान र गणित पढाउने सरहरु तराईका साह र मण्डल थरका हुनुहुन्थ्यो। अरु साथीका लागि उहाँहरुको नेपाली पनि हाँसोको बिषय बन्थ्यो।

तैपनि अरु दुङमाली साथीहरुको भन्दा मेरो नेपाली राम्रो रहेछ। त्यसैले उनीहरु धेरैजसो मामलामा मलाई अगाडि सार्थे। धेरैको प्रेमपत्र पनि लेखिदिएँ। लेखेर स्वाद मानी-मानीकन वाचन गरिदिएपछि मात्र चिठी खामबन्दी हुन्थ्यो। नेपाली लवज राम्रो बनाउन रातभर पाठ्यक्रमका कविताहरु सस्वर वाचन गर्थे। एउटा वादविवाद प्रतियोगितामा पहिलो भएपछि भने मेरो आत्मविश्वास बढेर आयो। पुरस्कारमा गोटाको एक रुपैयाँ पर्ने तीनवटा कापी पाएपछि खसे पुकको शक्ति थाहा पाएँ।

यति हुँदासम्म पनि, साथीहरुसँग गफगाफ गर्दा बीचबीचमा दुङमाली पसिहाल्थ्यो। कतिपयले जिस्क्याउँथे, "हामीलाई'नि सिकाउ न तिर्मो भाषा, तिमीलाई'नि सजिलो, हामीलाई नि मजा।" तर म त बिस्तारै घरमा पनि खसे पुक नै बोल्न थालेको थिएँ। सायद म जीविकोपार्जनको लागि गाउँबाट बाहिरिने तयारीमा थिएँ, मेरो बोजुको मातृभाषालाई कुप्लुक्कै पार्ने दुङमालीको ठाउँमा म पर्वते नेपालीलाई ठेल्दै थिएँ। अब त गाउँमै पनि हामीमुनिका पुस्तालाई सानैदेखि नेपालीमा बानी पार्ने प्रयत्न शुरु भइसकेको थियो। मातृभाषाको सङ्कुचनसँगै क्रमशः सम्पर्क, सम्बन्ध र सम्भावनाहरुको दायरा फराकिलो हुँदै थियो।
कतिसम्म भएछ भने, धेरैपछि आएर गोरखापत्रको 'नयाँ नेपाल' पातोले मसँग मातृभाषाको परीक्षा लिँदा फेल भएछु। लेख्य परम्परा नभएको 'दुङमाली पुक' बोल्दा जति मीठो र सहज लाग्थ्यो, गोरखापत्रका लागि एउटा लेख सिध्याउन त्यति नै गाह्रो भयो। अन्तयमा, नेपालीमै सरसर्ती लेखेर दुङमालीमा उल्था गरेँ। लेख दुङमाली, भाव नेपाली रह्यो। स्कूले जीवनको त्यो अप्ठ्यारो ठ्याक्कै उल्टिन पुगेछ। यसमा अभ्यासको अभावले काम गरेको थियो। दुङमाली भाषाको वर्ण निर्धारणमा सहभागी भएपछि मातृभाषाको त्यो लेखमा भएको भाषिक र व्याकरणीय त्रृटि थाहा पाएँ।


अभिव्यक्तिमा मातृभाषा

२०६७ मङ्सीरमा जलेश्वरको एक कार्यक्रममा सीके लालले आफ्नो मातृभाषामा बोलेको क्षण मेरो स्मृतिमा सधैँ नाचिरहन्छ। नेपाली, अङ्ग्रेजी र हिन्दीमा राम्रो पकड भएका सीके दाईको मातृभाषा मैथिलीको अभिव्यक्तिमा बेग्लै तागत थियो। त्यसैगरी, सभासद्‌द्वय रामशिला ठाकुर र इन्द्रावति अधिकारी दनुवारले मसँग गरिरहेको 'कनीकुथी नेपाली'ले त्यतिखेर पल्टा खायो जब बीचैमा मोबाइलको घण्टी बज्यो। फोनमा बोल्दा उहाँहरु दुबैले 'मातृभाषाको वाक्‌पटुता' र 'कमाल' देखाउनुभएको थियो।
दोस्रो भाषा अर्थात् पछाडि करले सिकेको भाषामा आफूलाई भन्न मन लागेको र थाहा भएको कुरा पनि चाहेअनुरुप भन्न सकिँदैन। अर्कोतिर अर्थको अनर्थ नलागोस् भन्ने पिरलो उत्तिकै हुन्छ। राजनीतिक जीवनसँगै नेपाली भाषाको व्यवहारिक अभ्यास थालेका सभासद्‌द्वयले अझै सिक्दै गरेको बताउनुभयो। यो सिक्ने क्रममा हामी अङ्ग्रेजीतिर कसरी लहसिएका छौँ भन्ने वर्णन कसैले गरिरहनुपर्दैन। मेरो आफ्नो अवस्था चाहिँ कस्तो छ भने, अङ्ग्रेजीमा अभिव्यक्त गर्नुपर्ने बाध्यतामा फँस्दा पनि व्यवहारमा बिरानो भइसकेको उही मातृभाषाले साथ दिन खोजीरहन्छ। विदेशीहरु लट्टे पड्केझैँ अङ्ग्रेजी बोलेको सुन्दा मलाई दुङमालीमा धाराप्रवाह हुन मन लाग्छ। अनि फेरि घरको बोजुलाई सम्झिन्छु।

छोराले बोलाएपछि उहाँ मलाया घुम्न जानुभयो। एयरपोर्टमा ओर्लिएपछि एउटा भीमकाय गोराले के-के, के-के सोधेछ। बोजुले अन्दाजकै भरमा आफ्नो कुरा राख्दा पहिला जानी नजानी नेपालीमा बोल्नुभएछ। गोराले बुझेन। अनि दुङमाली भाषामा भन्नुभएछ। गोराले अझै बुझेन। तामाङ भाषा पनि प्रयोग गर्नुभएछ। अब त झ्वाँक चल्यो, बोजुलाई। उहाँ दुङमालीमा कड्किनुभएछ, "यत्रो मलेवा शहरमा बस्ने साहेपलाई म पाखादेखि झरेको बुढी मान्छेले यत्रो कुरा भन्दा पनि अझ सोधिरहने?" अनि चाहिँ गोराले हाँस्दै बाटो देखाइदिएछ। बोजु भन्नुहुन्थ्यो, "मलाई त दुङमाली नै सजिल।"


(नोटः यो संस्मरण भर्खरैको दशैँ अंकको 'हिमाल'मा छापिएको हो। यहाँ तीन ठाउँमा सम्पादन गर्दा त्रुटि भएको छ। पहिलो शुरुकै वाक्यमा 'दुङमाली राई भाषा' लेखिएको छ। दुङमाली कुनै जाति नभएकोले 'किरात राई दुङमाली भाषा' हो। दोस्रो, सीके लालको पछाडि 'सर' थपिइएको छ। सीके दाईले पढेपछि मलाई भन्नुभो "भन्दाखेरी दाई भन्ने लेख्दा चाहिँ सर, अलिक अफेन्सिप लाग्यो।" र, तेस्रो, अन्तिमतिरको प्रसंग मैले घरको बोजुको कुरा गरेको हुँ। जसलाई शुरुमा उल्लेख भएको मामली बोजुको प्रसंगसँग जोडिइएको छ। तर यो बाक्यमा मैले स्पष्टसँग 'घरको' भनेर नलेखेकैले त्यस्तो बुझाई भयो। मेरो मामली बोजु त अरुण तरेर कही कतै जानु नै भएन। हिमालमा पढिसक्नु भएकाहरुलाई कुटीको यो टाँसो र नोटले स्पष्ट पार्छ। कुटीमै पढ्नेलाई भने त्यो वास्ता गर्नुपर्ने कुरो भएन।)

Thursday, September 29, 2011

दशैँ, आमा र म

हरेक साल दशैँ आउँछ। जान्छ। आजकाल त्यत्ति उत्साह जाग्दैन। तैपनि थाहै नपाइ केही हदसम्म 'फेष्टिभ मूड' भने वरिपरिकै माहौलले बनाइकनै छाड्छ। विविध सञ्चारका माध्यम-अनलाइन-मोबाइलदखि सामान्य गफगाफ सबैमा दशैँकै कुराकानी र शुभकामना आदानप्रदान। अनि त सबैतिर दशैँले प्रवेश गरेरै छाड्छ। म बस्ने घर हिजैदेखि सुनसानझैँ भयो। काम गर्ने थलोमा आएँ, यहाँपनि सुनसान। अधिकांश साथीहरु घरतिर लागिसके। बाँकी केही साथीहरुको जाने क्रम चल्दैछ। सडक पनि खुकुलो छ- कलंकीदेखि उताबाहेक। अनि कामको लाइन लागेको अनुपातमा काम गर्ने 'मूड' पनि खुकुलै। आफैलाई के ढाँट्नु, नगरी नहुने कामबाहेक अरु काम पेन्डिङमा बस्न बाध्य छन्। दशैँले छोपेपछि निरन्तरको धपेडीलाई बिसाउँदै काठमाडौँले सन्चको सास लिन्छ सायद। निस्सासिनबाट मुक्त भएको काठमाडौ मलाई मनपर्छ। सायद अत्याधिक समय उकुसमुकुस र भीडभाडमय हुने भएकोले होला केही दिनको होलो-खुकुलोपन प्रिय लागेको।

फेष्टिभ मुड भएनि बालखैछँदाको दशैँ, खुशी, उमंग र उत्साह भने कहिल्यै फर्केर आएन। र, आउँदैन पनि। केही योजना र कही कतैको गन्तव्य नभएको बेला यति लामो छुट्टी कसरी काट्ने भनेझैँ लाग्छ शुरुमा। तर दिन बितेको पत्तै नभइ यत्तिकैमा छुट्टी सकिन्छ। अनि ब्याक टु मंगलमान।

म अहिले कुटीमा बसेर उतिबेलाका दशैँ सम्झिँदै छु। र, ती दिनका स्वच्छ उमंग र जाँगरको मूल्य सालैपिच्छे झन् झन् बढेको महशुश गर्छु। बालख मान्छेको बालखै दशैँ। वर्षदिनमै भएनि एकचोटि नयाँ लुगा लाउन पाइने। पेट मात्रै हैन मन भरुन्जेल मिठो खान पाइने। सबै परिवार-आफन्तहरु एकैठाउँ हुने। साथीहरुसँग रमाइलोसँग पिङमा मच्चिन पाइने। कोशेली बाकेर टिका लाउन मामाघर जाने। निधारमा टिका र कानमा जमरा सिउरिएर ठूलाबडाहरुको हातबाट पाएको दक्षिणानको गन्ती गर्नु। आहाऽऽऽ क्या दिन थिए ती। ती दिनको तुलनै छैन।

दशैँको आगमनमा घरहरु चिटिक्क परेका हुन्थे, लिपपोतले सिँगारिएर। घर वरपर सफा सुग्घर हुन्थ्यो। बाटोघाटोहरु पनि बनाइन्थ्यो। घर-घरमा जाड रक्सी पार्ने काम घटस्थापनादेखि शुरु हुन्थ्यो। दशैँको मुख्य खान्की 'मासु'को लागि अगाडिदेखि नै सुँगुर, राँगा, खसी-बोका, कुखुरा आदि जनावर तथा पशुपंक्षीहरुको विषेश पालनपोषण हुन्थ्यो। कस्को घरको कति ठूलो वा कत्ति मोटो भन्ने चर्चा चल्थ्यो। फुलपातीको दिनदेखि मजैले दशैँ लाग्थ्यो। त्यही दिनदेखि गाउँको विभिन्न ठाउँमा लिङ्गे पिङ हालिन्थ्यो र तिहार नसकिन्जेलसम्म राखिन्थ्यो।

दशैँका बेलाका केही कुरा र काम भने मलाई मनै पर्दैनथ्यो। मार हान्ने दिनमा म आधा रातमै जाग्थे। खोरमा गएर घरीघरी सुँगुरलाई हेर्थे। मन बेसुख हुन्थ्यो। खसी-बोकालाई च्वाट्टै छिनाल्ने क्षण आउँदा वा बेचेर अरुले लैजाँदा मन नमिठो हुन्थ्यो। र जाड रक्सीको अत्याधिक प्रयोगको नतिजा अपचै हुन्थ्यो। जुठो भाँडो यत्ति धेरै हुन्थ्यो, त्यही पनि एकदमै चिल्लो अझ बोसो जमेर कक्रक्कै परेको, त्यो सफा गर्दागर्दा आमा र मेरो हातै कठ्याङग्रिन्थ्यो।

अर्को एउटा छुट्नै नहुने प्रसंग, घर-गाउँमा चाडबाडको उमंग चुलिदै जान्थ्यो। आमा र म चाहि तल बेसी- अरुणको किनार-मा रहेको गोठमा गोठाला दाजुलाई पालो दिन झर्नुपर्थ्यो दशैँको टिका थापेपछि। ४० देखि ४५ वटासम्म गाईगोरु, अलि बढी संख्यामा बाख्रा-बोकाहरु हुन्थे त्यहाँ। दशैँको चहलपहल र रमाइलो छाडेर एकदमै एकान्त, चराचुरुंगी र किराहरु कराउने बनमा बस्नु जाँदा रुन मन लाग्थ्यो। मुख अँध्यारो पार्दै आमाको पछि लाग्थे। त्यहाँ पुग्दा अरुण पनि एक्लिएर सुसाएझैँ लाग्थ्यो। आमाले पनि अरुणको सुसाइसँगै बात मार्नुहुन्थ्यो। गोठको सामुन्ने अरुण खोलाको पारिपट्टि धनकुटा जिल्लामा पर्ने जंगलमा ठुलो पहिरो थियो। त्यो सालैपिच्छे बढ्दै जान्थ्यो। त्यसलाई नहेरु भन्दा पनि आँखै सामु पर्थ्यो। अरुबेला त सामान्य लाग्थ्यो, दशैँको बेला भने त्यसले झनै मन कुँडाउथ्यो।

गाईबाख्रा चराउँदै, तिनको बाछाबाछी र पाठापाठीहरुसँग खेल्दै, वनजंगलसँग लुकामारी खेल्दै, चराचुरुंगीहरुसँग घुलमेल हुँदै, अरुणको पानी पिउँदै, उसको सुसाइ र छालसँग भलाकुसारी खेल्दै आमा र मेरो बाँकी रहेको दशैँ तिहार बित्थ्यो। घरबाट ओरालो झर्दा र झरेको एकाध दिन न्यास्रो लागेपनि पछि मलाई त्यही माहौल प्रिय हुन्थ्यो। किनकी त्यही ठाउँ र समय थियो, जतिबेला म आमासँग निर्धक्कसँग बस्न पाउँथे। मैले आमाको साथ र माया स्वतन्त्रतापूर्वक महशुश गरेको र मेरो बालापनसँग उनले बिताएको पल पनि तिनै हुन्। मेरो मनपरीतन्त्र चल्ने र मनलागी गर्न छुट पाएको क्षण पनि त्यही थियो। र आमाले पनि आफ्नो काम आफ्नै अनुरुप गर्न पाउने त्यही बेला थियो। त्यसैले हामी दुबैलाई काइदै थियो। दशैँ तिहारबाहेक गोठाला दाजुको सट्टामा कोही जानुपर्यो भने पनि हामी दुई नै चुनिन्थ्यौ घरबाट। घरको निर्णय आदेश हुन्थ्यो हाम्रोलागि। त्यहीमाथि सिजनअनुसारको फलफूल र दुध, दही मनग्गे खान पनि पाइन्थ्यो।

त्यहाँ जम्मा दुइटा गोठ थिए, ती पनि एकापसमा टाढा टाढा। सजिलोको लागि प्रायजसो दिउँसो एकैतिर गाईबाख्रा चराउन लग्ने गर्थ्यौ। अर्को गोठमा आटेबा (ठुल्बा) बस्नुहुन्थ्यो। उहाँले मलाई सरिफा खोजेर ल्याइदिनुहुन्थ्यो। त्यसको बदलामा मैले उहाँको फुलेको कपाल उखालेर सक्ने सम्झौता गर्थ्यौँ। आमा चाहि बाछाबाछीलाई घाँस काट्नुहुन्थ्यो त्यत्तिबेला। सरिफा त टन्नै खान्थे। तर फुलेको कपाल भने कहिल्यै उखेलेर सकिन। बुढ्यौलीले फुल्दै गएको कपाल पनि कही उखेलेर सक्नु र? कहिलेकाही गीत गाउँन लगाउने, सुसेली हाल्न सिकाउने, सिठ्ठी बजाउन सिकाउने गर्नुहुन्थ्यो आटेबाले। जे होस् मजैले बित्थ्यो गोठालाका दिनचर्या। पछि एक्लै गोठाला गर्नुपरेको बेलामा त्यत्तिबेला सिकेको सीपले खूब काम दिन्थ्यो।

आमाले बादर रुग्ने छेम्बा (यसको नेपाली नाम मलाई थाहा छैन)मा दाम्लोकै पिङ हालिदिनुभाथ्यो। गोठालाबाट फर्केपछि एक साँझ पिङ खेल्दै थिए। एउटा बादर आयो। मैले ढुंगाले हिर्काएर भगाउँन खोजेको त मलाई नपत्याएर झम्टिनै खोज्यो। त्यसलाई हिर्काउन के खोजेको थे। त्यो एउटा चिच्यायो र हूलै बाँधेर बादरहरु भेला भए। चिच्याउँदै, कोपर्न खोज्दै मलाई खुबै अत्याए। हतारहतार फुत्किएर स्वाँस्वाँ गर्दै गोठमा कुदेर आए। खोसेल्टाले पुरिएर मुटु धक्क फुल्याएर थरथर काम्दै आमालाई कुरेर बसीरहे। गाउँका मान्छेहरुले मलाई 'यति सानो छस् बादरले टिपेर लैजाला, होस् गर्' भनेर जिस्काउँथे। त्यत्तिबेला त साँच्चै हो कि क्याहो भन्ने पर्यो। आमा अरुणमा पानी लिन गएकोले गुहार्ने कुरा पनि भएन। पछि आमाले मलाई बोलाउदा घाँसको चाङबाट म एक्कासी फुत्त बाहिर आएँ। आमा त तर्सिएर कस्तरी कराएको। अनि त गोठै थर्किने गरी हाँस्यौँ दुबैजना। अघिल्लो दिन कोही नभएको बेलामा बादरले उपद्रो गरेको मलाई मन परेको थिएन। गोठालाबाट आउँदा त चामल छरिएको, दुध पोखिएको, भाँडाकुँडा भुइभरी छरिएको थियो। 'तैलै रिस उठाइस अनि उनीहरुपनि तसँग रिसाएको' भन्दै बाँदरसँग कसरी व्यवहार गर्ने भन्ने आमाले सिकाउनुभयो। आमा त पशुपंक्षी, किराफट्याङग्रा सबैसँग कुरा गर्नुहुन्थ्यो, लाग्थ्यो उहाँ तिनीहरुसँग दोहोरो संवादमा भावना साटासाट गरिरहनुभएको छ।

एउटा दशैँमा एकचोटि राति यत्ति ठूलो गर्जनले बाघ गर्जियो कि हामी सबै डरायौँ- आमा, म, गाईगोरु, बाख्रा। गाईगोरु कराउदै दाम्दो चुँडालेर भाग्न खोज्दै थिए। मलाई जुही- सबैभन्दा पाको गाई-को आडैमा राखेर, 'तिमेरु एकअर्काको साथी हौ, केही हुँदैन नडराओ' भनेर छाड्नुभो। पालैपालो गाईगोरुहरुलाई सुम्सुमाउँदै खै के के भन्दै सबैलाई साम्य पार्नुभो। त्यो रात एक छेउमा ठूल्ठूला अग्राख सल्काएर हामी दुबै जुहीको आडमा गाईगोरुको माझमा सुत्यौँ।

अन्तमा सबै-सबैलाई दशैँको हार्दिक मंगलमय शुभकामना छ।

Monday, September 19, 2011

भुइचाल आऽऽऽयो... मेरो, मेरो...

लामो समयपछि मेरो जन्मघरका हर्ताकर्ता काकासँग संवाद गर्दैथिए (धेरैपछि कुटीमा झुल्किएझैँ), हिजो साँझ। सन्चो विसन्चो र समय अन्तरालमा भए गरेका कुराहरुको बेलीबिस्तार सुन्दै सुनाउँदै गर्दै थियौ एकापसमा। दशैँको योजनाबारे सोधखोज हुँदैथियो उताबाट- "दशैँमा आउने होकी भनेर बाटो हेर्दैछु। धेरैजसो काम सकियो, अब दशैँ आयो।" एक्कासी "भुइचाल आऽऽऽयो भुइचाल आऽऽऽयो भुइचाल आऽऽऽयो"को आवाज आयो। "मेरो, मेरो, मेरो, मेरो"को एकोहोरो गुञ्जन आउँदैथियो मोबाइलले टुइक्क आवाज गर्यो र सम्पर्क टुटायो।

त्यत्ति हुँदा नहुँदै टेबल काम्न थाल्यो। झल्याकझुलुक बत्ति जाने आउने हुन थाल्यो। म मोबाइलको नेटवर्क खोज्दै झ्यालनेर उभिएको थिएँ झ्यालको डण्डी समातेर। कोठामा झुण्डिएको झुल एकतमासले हल्लिन थाल्यो। म एताबाट उता, उताबाट एता हुँदैथिए। छोरोलाई भने ओछ्यानै कोक्रो सरह भैराथ्यो। झल्याँस्स सम्झे, भुकम्प आउँदा सुरक्षित हुने ठाउँ खोजे। टेबलमुनि छिरे छोरालाई च्यापेर। तर टेबल आफै नर्तकीझैँ हल्लिदै थियो। तै तै टेबलसँगको हाम्रो सहकार्य र क्यमेस्ट्री भने मिलीराथ्यो। घरै नर्तकी बनेको थियो। धन्न संयमित भूकम्प थिएछ। केहीबेरमै शान्त भयो। धेरै खति पनि गरेन। सडकमा मान्छेहरुको भीड र उत्तिकै होहल्ला। सबैको हातमा मोबाइल। तर भूकम्पले त मोबाइलको पो सातो पुत्लो लिएर हिडेछ। विचरा "उसै त कुन, कानमा लुर्के सुन" भनेझैँ। मेरो नि मोबाइल संवाद अपुरै थियो र भूकम्पको असर पनि बुझौँ भनेर पुन: असफल प्रयत्न गरे मोबाइलको भाँडोलाई चलाएर। अहँ, इन्तु न चिन्तु भएको मोबाइलले केही पार लाएन।

४५ सालको भूकम्पमा पनि यो पालीको जसैगरी "भुइचाल आऽऽऽयो" भन्ने आवाजसँगै "मेरो, मेरो"को आवाज कता कता सुनेको अलिअलि याद छ। "मेरो, मेरो"को किस्सा यस्तो छ। जब भुकम्प आउँछ त्यसले सहकाल लैजान्छ रे (सायद क्षति गर्छ भनेको हुनुपर्छ) त्यो सहकाल बचाइराख्नको लागि भुकम्म आइरहेकै बेला अन्नबाली वा सिक्कालाई माना, पाथी वा डालोमा भर्दै "मेरो, मेरो" भन्यो भने अन्नबालीको सह रहन्छ रे। त्यही भएर ४५ सालमा बोजुले ज्यानको ख्याल नगरीकन उफ्रेर भकारीमा पसेर "मेरो, मेरो"को आलापसँगै पाथीमा धान भर्दै खन्याउँदै गर्नुभएको रहेछ। मलाई चाहि आमाले "उठ् उठ् बाहिर आइजा" भन्दै तान्न खोज्दै हुनुहुन्थ्यो। म भने ओछ्यानमा लडीबुडी खेल्दै थिए। त्यसबेला आसपासका केही घर चर्केका र भत्केका थिए। बारीका कन्लाहरु झरेका थिए। हाम्रो भने केही क्षति भएको थिएन। धन्न यसपाला पनि केही क्षति भएनछ।

घरको सबैभन्दा माथिल्लो तलाबाट भुइतलामा ओर्लिएका छिमेकी भूकम्प गइसकेपछि लगलग काम्दै थिए। उनको ६ वर्षे छोरो लल्याकलुलुक भएर भ्यात्त भूइमा पछारिदै रुन थाले। बच्चालाई सामान्य स्थितिमा ल्याउन केही समय लाग्यो। भगवानको चमत्कारको कथा बनाएर भनेपछि अलि विश्वश्त भयो ऊ। म चाहि टेलिभिजनमा आँखा घुमाउन थाले केही जानकारी हासिल गर्ने हेतुले। मनमा भने "मेरो, मेरो"को प्रसंग घुमिरहेथ्यो। ४५ मा बोजुले "मेरो, मेरो" भन्दै सह धानेको रे। अब अहिले ६८ मा आएर आमा पुस्ताले पनि धाने। पालो त मेरो पुस्तामा नि आउँछ होला त नि! दृश्य आँखामा नाच्छ, "भुइचाल आऽऽयो, मेरो, मेरो, मेरो, मेरो" ओठमा मुस्कान छाउँछ- "बोजु, आमाका पुस्ताले त अन्नबालीलाई मेरो मेरो भने, मेरो पालोमा चाहिँ केलाई भन्ने होला?"। खैर, "मेरो, मेरो"को ओखति कहाँ बनेको र कस्ले कसरी बनायो भन्ने थाहा छैन। यसले भुकम्पको क्षति रोकथाम गर्छ गर्दैन, सहकाल बाँचिरहन्छ रहदैन त्यो पनि थाहा छैन। मनको विश्वास न हो। जसको विश्वास छ, आडभरोसा टिकाइराख्ने एउटा झिनो कडी भने हुनसक्ला। र मनलाई संयमित राख्न सघाउला सायद।

यो भूकम्पमा ज्यान गुमाउनेहरू सबैप्रति श्रद्धाञ्जलीसहित...

Wednesday, November 24, 2010

मिथिला नगरी घुम्दा

कार्यक्रमको शिलशिलामा हाम्रो टोलीसहित मिथिला नगरी पुगे ४ दिनको लागि। म त्यहाँ दोश्रो पल्ट पुगेको भएपनि प्रमुख-प्रमुख थलोहरुमा पुग्न अझै सकिएन। जति ठाउँमा पुगे ती सबै कुनै न कुनै ऐतिहासिक महत्व बोकेका स्थलहरु थिए। लिएर गएको मुख्य कामको अलावा जनकपुरको जानकी मन्दिर, धनुषाको यदुकुहा (जुन नेपालका विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा परिवर्तनका लागि ज्यानको आहुति दिएर सहिद हुनेहरुको नगरीको रुपमा परिचित छ), महोत्तरीको जलेश्वरमा पुगियो। तिनै ठाउँका केहि तस्बिरहरु:
सुन्दर मिथिला कलामा महिला)

(प्रायजसो भित्तामा देखिने मिथिला चित्रकलाको नमुना)

केहि महिना अघि पहिलोपल्ट छोटो समयको लागि जनकपुर पुग्दा त्यहाका भित्ताहरुमा मिथिला कलाको रुप देखे। ती कलामा भरिएका रंग, तीनको सुन्दरता र सरलता, जो सुकैले बुझ्न सकिने आकृतिहरुले मन तान्यो। प्रायजसोको घरका भित्तामा त्यस्ता चित्रहरु भरेमा घर खाली नहुने पुरानो जनविश्वास रहेछ। चित्रहरुमा मिथिला संस्कृति, जनजीबन, महिलाका दिनचर्या, पशुपन्छी, जनावर आदिलाई उतारिएको देख्न सकिन्छ।

(प्रख्यात जानकी मन्दिर)

(जानकी मन्दिरको भित्रपट्टी राम-जानकीको मुर्ति रहेको मन्दिर)

जनकपुरमा प्रसिद्ध जानकी मन्दिरको साथै राम मन्दिर, जनक मन्दिर रहेका छन्। लक्ष्मण मन्दिर भने जानकी मन्दिर प्रांगणमै रहेको छ। मुगल शैलीमा बनाईएका यी मन्दिरहरु आकर्षक छन्। मिथिला नगरीमा मन्दिरका साथै मस्जितहरु पनि थुप्रै रहेका छन्।

(धनुषाको यदुकुहामा निर्मित महिला सहिद स्मारक पार्कमा स्थापित सहिदहरुको अर्धकद शालिक)

२०४७ जेठ ९ मा गिरिजा प्रा. कोइरालाद्वारा सिलान्यास भै २०५५ कार्तिक २३ मा मनमोहन अधिकारीद्वारा अनावरण भएको यो पार्कमा २०४६ फागुन ९ गतेका दिन सहादत प्राप्त गरेका जानकीदेवी, सोनावातिदेवी, मुनेश्वरिदेवी (भू.पु. सांसद शिवधारी यादवको परिवार), रामनारायण यादव र उदयशंकर मण्डल (कक्षा ९का बिद्यार्थी) को शालिक रहेको छ। त्यस्तैगरी २०२९ असोज १ गते नया शिक्षा योजना २०२८ को बिरुद्धको आन्दोलनमा कामेश्वर मण्डल र कुशेश्वर यादवको सहादत भएको थियो।

(धनुषाको यदुकुहामा पकाईतुल्याई)

(भोजनको लागि लामबद्ध मानिसहरुलाई भोजन बाँड्दै)

(मिथिला भोजन पुरा हुने पर्खाइमा)

घ्यु नराखेसम्म खानथाल्नु नहुने (अर्थात् अपुरो भोजन लिनु हुन्न भन्ने मान्यता हो) र अन्तिममा दहि खाएपछि बल्ल मिथिला भोजन समाप्त हुने संस्कृति रहेछ। आफुलाई त क्या भोक लागेको थियो। भात, दाल र तरुवा राख्नासाथ १ गास त खाई नै हाले। संगैको साथीले भनेपछि सबै परिकार नआउन्जेल अरुहरुले झै पर्खेर बसे। मिथिला भोजनमा जम्मा ६५ परिकार हुन्छ रे। त्यहाँ भने दाल, भात, आलु-पर्बल-भान्टाको बेग्लाबेग्लै तरुवा, तरकारी, २ थरिको अचार, घ्यु, माछा, दहि गरि १२ परिकार खाने अवसर जुर्यो। भोजन पुरा भएपछि त खाने सूरमा नै बितेछ।


(बहिरबाट देखिने महोत्तरीको जलेश्वर महादेव मन्दिर)

(भित्र पसेपछि देखिने जलेश्वर महादेवको लिंग रहेको मन्दिर)

(जलेश्वर महादेव मन्दिरभित्र रहेको शिवलिङ्ग, जहाँ बाह्रैमास पानी उम्रीरहने हुनाले जलमग्न छ। सिङ्गो एउटा ढुंगाबाट बनेको त्यो लिंग मन्दिरमा टासिएको मधुरो फोटोमाबाहेक हेर्ने अवसर जुरेन)

सधैभरी जलैजलमा महादेवको लिंग रहने हुनाले जलेश्वर भनिएको होला भन्ने सामान्य अड्कल लाग्ने गर्छ यो मन्दिरको बारेमा सुन्दा। किम्बदन्तीअनुसार सत्ययुगको अन्त्य र त्रेतायुगको सुरुमा सीता स्वयम्बरको लागि राखिएको धनुले भगवान शंकरले त्रिपुर दग्ध गरे। त्यहिँ त्रिपुर दग्धबाट खसेको ज्वाला राबा नदीमा खसी भित्रभित्रै जलेश्वरमा पुग्यो र ज्वालेश्वर महादेवको उत्पति भयो। ज्वालाबाट जाला, जल हुदै अन्त्यमा जलेश्वर हुन पुग्यो। बि.स. १८६९ मा गिर्वाणयुद्ध विक्रम शाहको पालामा मन्दिरको नियमित पूजापाठ संचालनको लागि ताम्रपत्र प्रदान भयो। बि.स. १९९६ मा तत्कालिन बडाहाकिम जनरल रामशमशेर जबाराले गुफमाथी पुन: मन्दिर निर्माण गराए। जलेश्वर महादेवको लिंग रहेको ठाउँको पानी महिनामा २ पल्ट फाल्ने गरिन्छ। पानी फाल्ने काम महिनाको पहिलो सोमबार प्रकौली ब्यारेकको नेपाली सेनाले गर्छ भने महिनाको अन्तिम सोमबार सशस्त्र प्रहरीको टोलीले गर्छ।

Friday, November 12, 2010

आमासँग म

२५ कार्तिक। तदनुसार ११ नोभेम्बरका दिन। साँझको समयले छोप्नै लागेको बेला। आफ्नै धूनमा गफ गर्दै म र एकजना साथी कामबाट फर्कदै थियौँ। 'कलंकी जाने बाटो कता हो?' एक्कासी कानमा ठोक्कियो। हामी टक्क अडियौँ र अवाज आएतिर मोडियौँ। सामान्य कदको एकजना अधबैसे पुरुष, खकने झोला भिरेर क्लान्त र अनभिज्ञ भावमा उभिएको। आडैमा उभिदै गरेका महिला उभिनै नसकेपछि थ्याच्च भुइमा बसिन्- एउटा हात टाउकोमा, अर्को हात पेटमा राखेर। पछ्यौराले टाउको ढाकेकी, लुंगीलाई पटुकीले बेस्कन कसेको, कैयौँ दिनदेखि पानी देख्न नपाएको मैलो खुट्टा र मैलिएकै सामान्य चप्पल तथा लूगामा रहेकी ती महिला निकै थकित देखिन्थि। श्वास फुलेर पुरै शरीरलाई नै कम्पन दिईरहेझैँ लाग्थ्यो।

बबरमहलको नेपाल कला परिषद्बबाट प्रसुति गृह छिर्ने बाटो हुँदै कलंकीतर्फ जाँदै गरेका रहेछन् ती जोडी। तिनको गन्तव्य थियो धादिङ। काठमाडौ शहरको चमकधमकबीच गरिबी र अशिक्षाले पलपल खाइरहेको जीवनको चिनो बनेझै लाग्थ्यो तिनको शरिर र भेषभूषा। अनभिज्ञताले पूरै लपेटेको तिनको भावभंगीमा र तिनले तय गरेको पैदल मार्ग।

'आधा घण्टामा त कुनैपनि हालतमा पुगिदैन बा। अनि वहाँ त बिरामी हुनुहुन्छ जस्तो छ। गाडीमा जानुस्। नत्र तपाईहरुलाई रातभरि लाग्छ।'

'आधा घण्टा लाग्छ रे अब, यहाँबाट माथि गएपछि राजाको मूर्ति आउँछ रे (मतलब त्रिपुरेश्वर चोक) अनि सोझै जानु रे भने' उनी आफ्नो बाटो सही हो हैन भन्ने निर्क्यौल गर्ने चेष्टामा थिए। तर साथैमा रहेकी महिला भने बोल्न सक्ने अवस्थामा थिइनन्। चुपचाप निहुरिएर आफ्नो अवस्थालाई झेल्दैथिइन्।

शिक्षण अस्पताल, सिनामंगलबाट २१ दिनपछि डिस्चार्ज भएपछि अलपत्र परेछन् उनीहरु। दिउँसो २ बजेदेखि पैदल हिडेर बबरमहलको त्यो गल्लीमा अइपुगेका ती जोडीलाई बाटोमा सोधेजति सबैले कलंकी पुग्ने छोटो बाटो देखाइदिएपछिको उनीहरुको साहसको नजिता थियो त्यो। साथमा कौडी नभएपछि गाडीले लान मानेन। अनि उनीहरु हिड्न थाले। कलंकी पुगेपछि जसोतसो धादिङ कसो नपुगिएला भन्ने ती अधवैसे पुरुषको अड्कल थियो। ग्याष्ट्रिक- आम नेपालीको साझा र सामान्य सम्पत्ति- बिग्रिएर अल्सर भयो। अब अप्रेसन गर्नुपर्ने रे। त्यसको लागि मंसीरमा आउनु भनेर अस्पतालले छुट्टि दियो। फर्केर अस्पताल आउने तिनको अवस्था त परै जाओस् तत्काललाई घर पुग्ने समेत ठेगान छैन। कठै ! सच्चा नेपाली जन। खाजा न बिश्राम, लगातारको हिडाईले बल्ल तल्ल त्यहाँ टेक्न आइपुगेका ति दुईजनालाई देख्दा मन अमिलो भयो। यी सब तामझाम, साधन स्रोत र सुविधाहरु बेकारका लागे। के गर्ने ति सबै कुराको साँठगाँठ मान्छेको दुःख र समस्यासँगभन्दा बढ्ता अर्थसँग छ। अनि यो समय र मान्छेको मानसिकता पनि अर्थकेन्द्रित भइसकेको छ। मेरो सोधाईमा तिनको जवाफ दिने क्रम चलिरहँदा तरकारी किनेर फर्कदै गरेका अन्य दुई महिलाहरुको पनि ध्यान केन्द्रित भयो।

'हामी गाडी चढाइदिन्छौ। अब जाउँ गाडी चढ्न। नत्र ढिला हुन्छ।' मेरो यो कुरामा अलि अप्ठ्यारो मानेर अलिकति ठाउँको उठाएर हातले इशारा गर्दै थिइन् बिरामी महिला। ती पुरुष चुप लागे। तरकारी किनेर फर्केकी एक महिलाले बचेकुचेको पैसा नगनीकनै दिइन्– 'लिनुस यो पैसा केही किनेर खानुस् गाडी उहाँहरुले चढाइदिनुहुन्छ।' अर्की महिला चाहि मसँग त कत्ति पनि पैसा नै छैन भन्दै चुक्‌चुकीदै थिइन्। एकैछिन हराएपछि कहाबाट हो कुन्नि पचास रुपैया ल्याएर दिइन्। हामी गाडी चढ्नेतिर मोडियौँ। सुस्तरी हिड्दाहिड्दै ती महिला पुनः थुचुक्क बसिन् २० मिटर नहिड्दै। हरेक २० मिटरको दुरीमा बस्नैपर्ने तिनको अवस्था एकदिनको नतिजा हैन, सोच्दैखेरी पनि आइयाऽऽऽ कत्ति नमिठो भने। हतारहतार गाडी रोकेर उनीहरु चढे। बिरामीलाई सिट मिलाइदिन अनुरोध गर्यौ हामीले। उनीहरु चुपचाप गाडी चढे, अनि गाडीको गतिसँगै टाढा भए। थाहा छैन ती आफ्ना गन्तव्यमा पुगे-पुगेनन्। कतै कलंकीको सडक पेटीमा ज्यानमा सिउरेको एक जोर लुगामा चिसो सिरेटोसँगै कठ्यांग्रिए कि !

मैले ति बिरामीलाई नजिकबाट नियाल्न खोजे बीच बाटोमा, झिसमिसे अध्यारोमै भएपनि। तिनी एकदम परिचित र मेरै आफ्नै पो रहेछिन्। उमेरले ४० ननाघेकी होलीन् तर उनको मुहारमा अनगिन्ती दुःख र पीडाका धर्साहरु लमतन्न परेका। उमेरभन्दा बढी नै बुढ्यौली पालेर तिनी शान्त तलाउझैँ एकैनासको भाव बोकेर मौन छिन्। तनमनमा हुरी लुकाएर आफ्नो शरिरलाई सिन्कीझैँ सुकाएर चुपचाप जे आइपर्छ त्यही गर्ने बानी बसालेकी, सकीनसकी संघर्ष गरिरहेकी ती महिलासँग म खूब नजिक छु, तिनको मनको गहिराईसम्मै। मैले उनको कष्ट र बेदनालाई धेरै अघि नै एकदमै नजिकबाट छामेको छु, ओल्टाइपल्टाइ हेरेको छु, देखेको छु र केही गर्न नसक्ने आफ्नो विवशतासँग पनि जुधेको छु। आँखाको चेपचेपबाट लुकाएर आँसुको उपहारबाहेक अरु दिन नसक्नुको अकर्मण्यता मुटुमा रोपेको छु। मेरो लागि नै यी सब परिचित छन् भने भुक्तभोगीको लागि यी र यस्ता कुरा त नित्य कर्म अन्तर्गतको व्यायाम हो। जुन कोही कसैको लागि स्वस्थकर नभएपनि जीवनको एक अभिन्न कर्म मानी गर्नैपर्नै एउटा आदत बसीसकेको छ। हो यस्तै आदत बसाल्न बाध्य भएकी, दुःखमाथि दुःखको भारी खेपेकी मलाई जन्म दिने मेरै प्यारी आमा। हो तिनी मेरी आमा नै हुन्। उबेलाको मेरी आमा र यिनमा कुनै अन्तर छैन। जो कुनै प्रश्न र शंकाबिना जस्तोसुकै यात्रामा पनि अघि बढिरहन्छिन्। कहिलेकाही उनको मौनता र शान्त स्वभावमा जोडले ढुंगा हानेर बिथोल्न र थोरै भएपनि मुर्मुरोपन निकाल्न औद्यी जोड गरे। तर म हार्छु। उनको धैर्यताको अगाडि मेरो जोड त्यसै बिलाउँछ।

आमा मुश्किलले आफ्नो पाइला चाल्दै जान्छिन् म उनको पटुकीको फुर्का समातेर उनीसँगै हुन्छु। उनी टुसुक्क कुनै ढुंगामा बस्छिन् या त यसै घाँसको बुट्यानमा थचारिन्छिन् श्वास फुलाएर। कहिलेकाही त लहरे खोकी नै लागेर हुरुक्कै हुन्छिन्। म के गरुँ कसो गरुँ ? भन्ने उकुसमुसुसँगै उनीतिर हेर्छु। उनको पिठ्युमा हात राख्छु। तिनी मतिर हेरेर मुश्किलले हाँसेझैँ गर्छिन्। मलाई राम्ररी थाहा छ मेरो माया मानेरै यसो गरेकी हुन् उनले। हामी धामी (झाँक्री) कहाँ झारफुक गर्न हिडेका छौ। त्यसो त पहिलेपहिले १५ मिलेट मै पुग्थिन् रे मेरी आमा। यो पाली त बिहानको भात खाएर घरबाट हिडेको घाम त टाउकामै आइसकेछ- उनी आफैले भनिन्। मैले नि यसो हेरे, मेरो छाया देखिन। आमाको छाया नि देखिन, पड्के छाया मध्यदिनको घामले खाएछ।

कान्ले उकालोले पनि आमालाई धेरै दुःख बेसायो। मनमा मायाको बाढी उर्लेर आउँछ। पहिले पहिले घाँस दाउरा गर्दा तिनै बाटोमा ठम्‌ठम्ती बडेमानको भारी बोकेर मलाई डोर्‌याउँथिन्। तैपनि तिनी म भन्दा कता हो कता बढ्तै हिड्थिन्। म भन्थे 'आमा कत्ति छिटो हिडेको ? मेरो खुट्टै पुग्दैन।' अहिले म ८ वर्षको छु। उनी ४० वर्षकी। म उनको नातिनी भन्न सुहाउने देखिन्छु। उनको धेरै दाँत छैनन्। मखमली चौबन्दी चोलोको रंग खुइलिएर बेरंगको देखिन्छ। लुंगी थोत्रो भएर बुट्टा हराएका। अनि हातैले बुनेको खेस (खाडी)को पटुका भने सबैभन्दा राम्रो देखिन्छ। त्यसको टुप्पामा राम्रो फूलबुट्टा पनि आमाले आफै भरेको। गहुँगोरो सुलुत्त परेको मुहारमा दाँत नभएपनि उनको दुर्लभ थोते हाँसो मेरो लागि उपहार सरह। हुन त म नि कहाँ गतिलो देखिन्छु र ! कपाल कति दिनदेखि नकोरेर लट्टा परेको। लुगा मयलले कट्कटिएको। खाली खुट्टा, त्यो पनि मयलले ढाकेको। खैरो रंगको पोलिस्टरको सर्ट खुम्चिएर माथि माथि सरेको, टाँक फुस्किएर हुपसियोले धानेको, निलो फ्रक ठाउँ ठाउँमा च्यातिएको। यसो आफैलाई हेर्दा प्वाखबिनाको कुखुराको चल्लाझैँ देख्छु। अनि मनमनै आफ्नो लुगा देखेर खिस्स हाँस्छु– 'भोत्लोङ्गे चल्ला' उपनाम भिरेर।

आमा फेरी उठ्छिन्। 'हिड्', संकेत गर्छिन् इशाराले। म फेरी उनको पटुकाको फुर्को समात्छु। एवं रितले हाम्रो बाटो काटीरहेछौँ। केही पाइला हिड्यो, बिसायो। हिडिरहेको बाटोसँग मलाई उठ्नु रिस उठेको छ। म सानो भएकोमा पनि उठ्नु रिस उठेको छ। 'म अलिक ठूलो भएको भए तपाईलाई बोकेरै लैजान्थे हगि !' ओहो उनी त क्या मज्जाले हासिन्। के चाहियो र मलाई। मनमनै सोचे- साँच्चै म उनलाई बोक्न सक्ने भए त झनै मख्ख पर्थिन्, अनि उनलाई यत्रो कष्ट नि हुन्नथ्यो नि ! म किन ढिलो बढेको होला छिः

बल्ल तल्ल हामी धामी दाईकोमा पुग्यौँ। तर घरमा केही छैनन्, धत्तेरीका। दैलोमा ओछ्याइएको गुन्द्रीमा आमा कुक्रुक्क परेर सुतिन्। मैले देखेअनुसार उनी जहिलेपनि त्यसैगरी सुत्थिन्। सुत्दा पनि आरामले निष्फिक्री सुत्न केले नदेको होला कुन्नी ? कोही देखिन्छन् कि भनेर म एताउति चाहार्छु। धमिनी भाउजु घाँस बोकेर देखा परिन् माथि बारीको कान्लामा। धामी दाई र खेतालालाई खाजा पुर्याउन गएकी रहेछिन्। भारी गोठमा बिसाएर घरभित्र छिरिन्। घट्‌घट् अमखोरामा पानी पिइन्। धामी दाईलाई लिन जाउ भनेर मलाई औलाले बाटो देखाएर पठाइन्। आमासँग केही सोध्दै थिइन् धमिनी भाउजु। म सरासर बारीको कान्ला नाघ्दै उकालो लागे मनमा ठूलो आश लिएर। मेरो खल्तीमा बसेको मोबाइल थरथरी काम्न थालेपछि म आफूलाई सिंहदरबारको पूर्वी गेटनेर हिडीरहेको पाउँछु। धामी दाई त मेरै खल्तीमा पो रहेछ- भावुक सम्झनाको बिट मार्दै भने।